काठमाडाैं । एनसेलको सेयर खरिद-बिक्री काण्डबारे उच्चस्तरीय छानबिन समितिले तयार पारेकाे छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएकाे छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको हाे ।
एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले माघ १५ गते प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएकाे थियाे ।
सरकारलाई जानकारी नदिइ मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । एनसेलकाे सेयर खरिद-बिक्री सम्झौताबारे छानबिनको माग उठेपछि सरकारले टंकमणि शर्माकाे संयाेजकत्वमा मंसिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
