काठमाडाैं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय परिस्थिति अत्यन्तै गम्भीर रहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् देवले अहिले राष्ट्रिय परिस्थिति अत्यन्त चुनाैतीपूर्ण, गम्भीर र संकटपूर्ण रहेकाे बताउनुभयाे । त्यस परिस्थितिकाे अन्त्य गर्नका लागि नयाँ परिवर्तन ल्याउने राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उहाँले बताउनुभयाे ।
संघीय लाेकतान्त्रिक गणतन्त्रकाे राजनीतिक ढाँचा खडा गर्ने र समाजवादकाे उन्मुख हुने गर्ने प्रतिबद्धता गरेका सम्पूर्ण राजनीतिक शक्तिमाथि चुनाैतीकाे पहाड खडा रहेकाे सांसद् देवले बताउनुभयाे । पूर्ण रुपमा भ्रष्टाचार नियन्त्रण गरेर, रोजगारीको सिर्जना गरेर र जनताको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयाे ।
अहिले व्यवस्थामाथि नै प्रश्न उठेकाे भन्दै सांसद् देवले परिवर्तन ल्याउने दलहरुले व्यवस्था बचाउने कि नबचाउने ? देशकाे विकास गर्ने कि नगर्ने ? सामाजिक न्याय, समृद्धि र समाजवादतिर देशलाई अगाडि बढाउने कि नबढाउने भन्ने प्रश्न खडा रहेकाे बताउनुभयाे ।
उहाँले देशलाई कसरी अगाडि बढाउने भन्नेमा दलहरु केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयाे । जनतालाई सन्तुष्ट पार्न नसकेका कारण व्यवस्थामाथि असन्तुष्टि पैदा भएको सांसद् देवले बताउनुभयाे । संघीयता, गणतन्त्र र परिवर्तन विराेधी प्रतिगमन शक्तिहरुले निरन्तर प्रश्न उठाइरहेका भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'हामीले भ्रष्टाचार निर्मुल गर्न किन सकेनाैं, सेवा प्रवाहकाे कुरालाई किन अगाडि सार्न सकेनाैं, राेजगारीकाे सृजना किन गर्न सकेनाैं हामीले ? व्यवस्था विराेधीलाई कमजाेर गर्न किन सकेनाैं, उनीहरुकाे मुखमा बुझाे किन लगाउन सकेनाैं जनताकाे काम गरेर ? याे प्रश्नमाथि घाेत्लिनेकी नघाेत्लिने ?'
सांसद् देवले सुशासन, जनतालाई सरल तथा सहज ढंगले सेवा प्रवाह र देशमा व्यापक रुपमा सृजना गर्नुपर्ने बताउनुभयाे । याे देशमा भ्रष्टाचारकाे एजेण्डामा टेकेर प्रतिगमन हुने गरेकाे भन्दै उहाँले गठबन्धन राजनीतिले भ्रष्टाचार बढाएकाे बताउनुभयाे ।
भ्रष्टाचार न्युनीकरण गर्न पाेल्टिकल विल पावर सबै दलबाट आउनुपर्ने, पार्टीभित्रका लागेका भ्रष्ट स्वभावका व्यक्तिलाई टिकट नदिने कसैगरी सांसद् बने मन्त्री नबनाउने र कर्मचारीलाई दलीय राजनीतिबाट टाढा राख्नुपर्ने उहाँले बताउनुभयाे । ०५१ सालमा नेकपा एमालेमा मनमाेहन अधिकारी अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा कर्मचारीहरुलाई दलीय राजनीतिबाट अलग राख्नेबारे छलफल भएकाे भन्दै सांसद् देवले त्यतिबेला त्याे पास हुन नसकेकाे बताउनुभयाे । दलीय राजनीतिमा कर्मचारीलाई पस्न नदिनका लागि कानुन व्यवस्था बनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'यसका लागि हामी तयार हुने कि नहुने ?'
भ्रष्टाचार न्युनीकरणका लागि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे संरचनामा पुर्नविचार गर्ने र त्यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने सांसद् देवले बताउनुभयाे । प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने उहाँले बताउनुभयाे । जाेसुकै पार्टीकाे नेता भएपनि यी काम गरे देश सुध्रने समेत सांसद् देवले बताउनुभयाे ।
जनताकाे जनजीवनमा परिवर्तन आउनेगरी सरल र सहज ढंगले बिना घूस काम गर्नुपर्ने बताउनुभयाे ।
अहिलेको शासकीय स्वरुपले गठबन्धन गर्नुपरिररहेको र गठबन्धनले भ्रष्टाचार बढाएको भन्दै सांसद् देवले बताउनुभयाे । 'गठबन्धनकाे राजनीति अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ, गठबन्धनले भ्रष्टाचार बढायो, एउटा नेताले काम गर्न खोज्छ अर्कोले खुट्टा तान्छ, त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो कि ? त्यतातिर जाने हाे भने रिथिङ गराैं, जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन्'- उहाँले भन्नुभयाे ।
