काठमाडाैं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि बैठकले 'विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
उक्त विधेयकमाथिको छलफलमा मदनकुमारी शाह (गरिमा), दिलकुमारी रावल थापा (पार्वती), युवराज शर्मा, सुरेश आले मगर र कमला पन्तले सहभागिता जनाउनुभएकाे थियाे ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै राज्यमन्त्री प्रमिला कुमारीले राजधानी बाहिर सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सञ्चालनको लक्ष्य राखेर विधेयक ल्याइएको बताउनुभयाे । विधेयकमार्फत दक्ष स्वास्थ्य जनशक्तिको विकासमार्फत राष्ट्रलाई सेवा पुर्याउने तथा सुदूरपश्चिममा पनि केन्द्रीय विश्वविद्यालय राख्न सकिन्छ भन्ने सन्देश दिइएको उहाँले बताउनुभयाे ।
