काठमाडाैं । संविधान कार्यान्वयनका लागि आवश्यक १ सय ५१ वटा बढी कानुन तत्काल बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
नेकपा एमालेकी सांसद् दिलकुमारी रावल थापा पार्वतीले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु तत्काल निर्माणका लागि साेमबार राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गर्नुभएकाे हाे ।
रावल प्रस्तावक रहेको साे संकल्प प्रस्तावलाई अन्य ८ जना राष्ट्रिय सभाका सदस्यकाे समर्थन छ । प्रस्तावमा एमालेका देवेन्द्र दाहाल, कांग्रेसकी अनिता देवकोटा, माओवादीका गोपी अछामी, नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राई, जसपाका मोहम्मद खालिद, लोसपाका शेखरकुमार सिंह, राजमोका तुलप्रसाद विश्वकर्मा र मनोनित विमला राई पौड्यालकाे समर्थन छ ।
संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने सबै कानुन आगामी असोज ३ गतेभित्र बनाइसक्नुपर्ने भन्दै साे प्रस्ताव दर्ता गरिएकाे हाे । 'संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन बनाई नागरिकको मौलिक हक उपभोगको सुनिश्चितता प्रदान गर्नु राज्यको दायित्व हो र उपभोग गर्न पाउनु नागरिकको अधिकार हो, तसर्थ संविधान जारी भएको नवौं वर्षगाँठ ०८१ असोज ३ गतेसम्म अर्थात् संघीय संसद्को चालु १५औं अधिवेशनभित्र संविधानअनुसार बन्न बाँकी कानुनहरू बनाइसक्न यो संकल्प प्रस्ताव पेश गरेका छौं'- प्रस्तावमा लेखिएकाे छ ।
