काठमाडाैं । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियाेस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकाे हाे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साे विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि साे विधेयकमाथि सैद्धान्तिक छलफल भएकाे थियाे । छलफलमा भगवती न्यौपानेले, डा. विमला राई पौड्याल, दिलकुमारी रावल थापा (पार्वती), राधेश्याम पावसान, भैरवसुन्दर श्रेष्ठ, तुलसाकुमारी दाहाल, रामचन्द्र राय र देवेन्द्र दाहालले भाग लिनुभएकाे थियाे ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले आर्थिक अपराध नियन्त्रणमा नेपालको कानुनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन उक्त विधेयक प्रस्तुत गरिएको बताउनुभयाे ।
