काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको सर्टलिस्टमा परेकामध्ये विवादित व्यक्तिहरुका विषयमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिकाे बैठकले उपकुलपति छनौटको सर्टलिस्टमा परेकामध्ये केही व्यक्तिका विषयमा बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएका लगायत कुरा आइसकेको भन्दै उनीहरुका विषयमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले विश्वविद्यालयको कुलपतिलाई बोलाएर यस विषयमा छलफल गर्ने निर्णय पनि गरेकाे छ । बैठकले विश्वविद्यालयमा नियुक्त भएका विषयमा देखिएको विवाद छानबिन गर्न पनि निर्देशन दिइएको समिति सभापति भानुभक्त जोशीले जानकारी दिनुभयो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले कुलपतिको प्रतिष्पर्धामा छानिएका १४ जनामध्ये कोहीबिरुद्ध पनि उजुरी नपरेको बताउनुभयो । उहाँले सर्टलिस्टमा परेकामध्ये केहीका बारेमा आएका विवादहरुमाथि छलफल हुने बताउनुभयाे ।
समिति सदस्यहरुले उपकुलपति छनौटलाई निष्पक्ष बनाउनुपर्ने बताएका थिए । सांसद डा. तोसिमा कार्कीले सिफारिस समितिको विषयमा नै प्रश्न उठाउनुभयो । उहाँले नयाँ समिति बनाउन सुझाव पनि दिनुभयो ।
सांसद् विद्या भट्टराईले विवादका विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
सांसद्हरुले निमित्त उपकुलपतिले गरेका नियुक्ति कानुन विपरीत भएकाले तत्काल खारेज गर्न पनि माग गरेका थिए ।
