काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावलाई थप समावेशी बनाउन केही ऐनहरु परिमार्जन गर्नुपर्ने बताउनुभएकाे छ ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सभाकाे दिगो विकास तथा सुशासन समितिको बैठकमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आउँदा समावेशीका कुरा निक्कै उठ्ने तर अरु बेला खासै नउठ्ने बताउनुभयाे ।
राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको र अन्य क्षेत्रमा पनि समावेशी हुनुपर्ने उहाँले बताउनुभयो । लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयाे ।
अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएकाे उहाँले बताउनुभयाे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता सार्वभौम सम्पन्न भएको र निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद बिक्रीको कल्पना गर्न नसकिने बताउनुभयाे ।
बैठकमा समिति सदस्यहरुले निर्वाचनपछि दलहरुले आयोगसमक्ष प्रस्तुत गर्ने खर्चको परिमाण यथार्थपरक नरहेको बताएका थिए । उनीहरुले संविधानको मर्मअनुसार अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चिता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको बताएका थिए ।
