काठमाडाैं । शिक्षाविद्हरुले विश्वविद्यालयलाई सरकारले स्वयत्तता प्रदान गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिकाे छलफल बाेल्दै शिक्षाविद्हरुले विश्वविद्यालयमा राजनीति हस्तक्षेप हुन नदिने बताए ।
विश्वविद्यालयहरुमा राजनीति अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने उनीहरुकाे ठहर छ ।
बैठकमा बाेल्दै शिक्षाविद् केदारभक्त माथेमाले पठ्ने र घोक्ने भन्दा पनि नयाँ विश्वविद्यालयले आफ्नो विचार र नया कुरालाई स्थापित गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।
कानुनविज्ञ माधव पौडेलले नेपालमा भएका विश्वविद्यालयको ऐन संशोधन गर्न कठिन हुने भएकाले सबै समस्यालाई समाधान गर्नेगरी नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयाे । विश्वविद्यालयको कुलपतिलाई एकेडेमिक पद बनाउनुपर्ने उहाँकाे सुझाव छ ।
शिक्षा विद् डा.चैतन्य मिश्रले संसारका विश्वविद्यालयसँग प्रतिष्पर्धा गर्नका लागि नयाँ विश्वविद्यालयलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले सरकारले विश्वविद्यालयलाई स्वयत्तता प्रदान गर्नुपर्ने बताउनुभयाे । विश्वविद्यालयहरुमा हुने गरेकाे राजनीतिक हस्तक्षेप राेक्नुपर्ने उहाँले बताउनुभयाे ।
बैठकमा समिति सदस्यहरुले नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेमुक्त हुने गरी कानुन बनाउनुपर्ने बताएका थिए ।
नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा छ ।
