काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सांसद् डोलप्रसाद अर्यालले रुसी सेनामा नेपालीहरु भर्ती भएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् अर्यालले रुसी सेनामा भर्ती भइ भागेर दूतावासमा जाने क्रममा नेपालीहरु जंगलमा अलपत्र परेको समाचार आएकाे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरू अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न उहाँले सरकारसँग माग गर्नुभयाे ।
रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको ज्यान गएकाे र १ हजार नेपाली घाइते भएका र ५ हजार नेपाली रुसी सेनामा भर्ती भएको कुरा आएकाे भन्दै सांसद् अर्यालले यसकाे वास्तविक तथ्याकं जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराउनुभयाे ।
