काठमाडौं । नेकपा एमालेले सरकारले जहाँ हरियाे घाँस देख्याे त्यहाँ गएर चरिहाल्ने प्रवृत्ति देखाएकाे बताएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै एमाले सचेतक महेश कुमार बर्ताैलाले सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा लागेकाे बताउनुभयाे । एमाले सरकारका ४ जना मन्त्रीकाे राजीनामा समेत मागेकाे छ ।
भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको भाषण छाट्न नमिल्ने उहाँले बताउनुभयाे । बालकुमारी घटनामा मुछिएका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुनन किराँतीलाई बर्खास्त गर्न सचेतक बर्ताैलाले माग गर्नुभयाे ।
स्वास्थ्यमन्त्रीले टेरामक्स भ्रष्टाचार काण्डमा बयान दिइरहेकाे र पर्यटन मन्त्री किँराती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानुनीरूपमा लिजमा दिने निर्णय गरेको भन्दै उहाँले उनीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्नुभयाे ।
टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने सचेतक बर्ताैलाले प्रष्ट पार्नुभयाे ।
