काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेले झुलाघाट-चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्रापछि सरकारलाई बुझाएकाे प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमाले सांसद् कृष्णगाेपाल श्रेष्ठले साेध्नुभएकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एमालेले बुझाएकाे प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुझावलाई सरकारले गम्भिरतापूर्वक लिएकाे बताउनुभयाे ।
साे प्रतिवेदनबारे एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलसँग छुट्टै र प्रधानमन्त्री कार्यालयमा सरकारी अधिकारीसहित संयुक्त छलफल भइरहेकाे उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले एमालेले दिएका सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्ने आश्वासन समेत दिनुभयाे । 'यस विषयमा विष्णु पाैडेलजीसँग पनि छुट्टै छलफल भएकाे छ, प्रधानमन्त्री कार्यालयमा छलफल भइराखेकाे छ, सरकार याे विषयमा गम्भीर छ, गम्भीरतापूर्वक लिइएकाे छ, प्रतिवेदनमा उल्लेख गरिएका उल्लेखीय सुझाव आगामी नीति तथा कार्यक्रममा क्रमश समावेश गरिने जानकारी गराउँछु'- उहाँले भन्नुभयाे ।
एमालेकाे संकल्प यात्रामा आफ्नाे पनि स्वामित्व रहेकाे दाबी समेत प्रधानमन्त्री प्रचण्डले गर्नुभयाे । 'यसमा मेराे पनि स्वामित्व छ भन्ने कुरा प्रतिवेदन बुझाउँदा नै मैले भनेकाे थिएँ, मध्यपहाडी राजमार्ग रेखांकन प्रस्ताव मेराे पहिलाे प्रधानमन्त्रीकाे कार्यकालमा पूरा भएकाे थियाे, त्यसमै टेकेर एमालेले संकल्प यात्रा गरेकाे हाे, त्यसकारण एमालेकाे संकल्प यात्रामा मेराे पनि स्वामित्व छ'- उहाँकाे दाबी छ ।
