काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले सरकारलाई बुझाएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा आफ्नो पनि केही हिस्सा रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले राख्नु भएको प्रश्नको जवाफ दिँदै दाहालले मध्य पहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा मध्यपहाडी लोकमार्गको रेखाङ्कनको प्रस्ताव मन्त्री परिषद् बैठकले २०६५ फागुन २६ गते पास गरेको बताउनुभयो । ‘अहिले नेकपा एमालेले त्यसैलाई आधार बनाएर गरेको संकल्प यात्रामा कहीँ न कहीँ म पनि छु’, उहाँले भन्नुभयो ।
प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषय कार्यान्वयनको लागि निर्देशन दिइए बमोजिम प्रतिपक्षी दलको प्रतिनिधि मण्डल र नेपाल सरकारका मुख्य सचिव राखेर प्रधानमन्त्री कार्यालयमा छलफल भएको उहाँले बताउनुभयो । यस विषयमा एमालेले जिम्मेवारी तोकेको उपाध्यक्ष विष्णु पौडेलसँग पनि आफूले छुट्टै कुरा गरेको उहाँले जानकारी दिनुभयो । ‘सरकार यस विषयमा गम्भीर छ’, उहाँले भन्नुभयो ।
प्रतिवेदनमा दिइएका सुझाव सरकारका नीति तथा कार्यक्रममा आउने आर्थिक वर्षबाट क्रमशः कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।
