काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुबै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानुनी र नीतिगत व्यवस्था गरेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद् गाेकर्ण विष्टकाे प्रश्नकाे जवाफ दिँदै उहाँले यसका लागि सरकारले आवश्यक कार्य गरिरहेकाे बताउनुभयाे ।
उहाँले मुलुकमा प्राप्त स्रोत-साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने र सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको बताउनुभयाे ।
आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप गेम चेन्जर आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल थालेकाे पनि प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।
जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत विमानस्थलको स्तरोन्नतिको काम समेत अगाडि बढेको उहाँले जानकारी गराउनुभयो । लम्की-फुकोट ४०० केभी प्रसारण लाईन हाल निर्माणको चरणमा रहेकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ४१८ मेगावाट क्षमताको कर्णाली-फुकोट, १०९२ मेगावाट क्षमताको मुगु कर्णाली सरकारी कम्पनीमार्फत अगाडि बढाइएको पनि उहाँले बताउनुभयाे ।
