काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिन र तीन मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमा समय लिएर बाेल्दै एमाले सांसद् रघुजी पन्तले लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र अख्तियारले बयान लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई बर्खास्त गर्न माग गर्नुभयाे ।
प्रधानमन्त्रीमा अलिकति नैतिकता भए ती तीन मन्त्रीलाई हटाएर अवैधानिक कामकाे उद्घाटन गर्न गएकाेबारे तत्काल जवाफ उहाँले माग गर्नुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'प्रधामन्त्री सुशासनकाे भाषण र भ्रष्टाचार विरुद्धकाे भाषण गरेर हिँड्नुहुन्छ, अर्काेतिर उहाँकाे पर्यटनमन्त्रीले सिफारिस गरेकाे र उहाँले नियुक्त गरेकाे ल्यारकल लामाले लुम्बिनी विकास काेषकाे उपाध्यक्षकाे हैसियतले रामग्राममा गरेकाे कामलाई सरकारी माध्यम, सम्बन्धित निकाय र लेखा समितिले नियमित र कानुनविपरीत ठहरेर उहाँले फिर्ता लिनुहुन्छ, त्यस्ताकाे लहलहैमा लागेर प्रधानमन्त्री त्याे कार्यक्रम उद्घाटन गर्नुहुन्छ याे के काे तागतले ? अनि प्रधानमन्त्रीले नैतिकताकाे भाषण गरेर हिँड्न मिल्छ ? नैतिक रुपले पर्यटनमन्त्री र ल्यारक्याल लामालाई हटाउनुपर्छ, नैतिकतामा विश्वास गर्ने हाे भने उहाँ आफैंले पनि जवाफ दिनुपर्छ किन जानुभयाे अवैधानिक कामकाे उद्घाटन गर्न जानुभयाे ?'
बालकुमारी घटनामा प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्नेमा अझैसम्म पदमा बस्नु लज्जाजनक रहेकाे उहाँले बताउनुभयाे । केपी ओलीकाे कार्यकालमा शेरबहादुर तामाङले बाेलेकाे कुरामा विवाद हुनासाथ शेरबहादुर तामाङले मन्त्री पदबाट राजीमामा दिएकाे सांसद् पन्तले बताउनुभयाे ।
पूर्वमन्त्री गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको समेत उदाहरण दिँदै उहाँले पञ्चायत कालदेखि आजसम्म विवादमा पर्नासाथ, भ्रष्टाचारमा पर्नासाथ १ मिनेट पदमा नबसेकाे नजिर रहेकाे बताउनुभयाे । 'आजसम्म राजनीतिक इतिहासमा अख्तियारले बयान लिन बाेलाएपछि कुनैपनि मन्त्री पद बस्दैन, झण्डा हल्लाउँदै मन्त्री बयान दिन गएकाे दुरदर्शापूर्ण दृश्य यसैपाली देखियाे, पञ्चायत कालदेखि आजसम्मकुनै पनि मन्त्री विवादमा पर्नासाथ, झन् भ्रष्टाचारको मुद्दामा पर्नासाथ उ १ मिनेट पनि पदमा बसेकाे छैन, अख्तियारले बाेलायाे छानबिन गर्छ भनेपछि अख्तियारले बाेलाउनुअघि राजीनामा दिएका नजिर छन् हाम्राे देशमा, के यस्तै तरिकाले गणतन्त्र बलियाे हुन्छ ? गणतन्त्र कमजोर भयो भने नक्कली आँशु बगाउने अनि गणतन्त्र बलियो बनाउनेतिर नलाग्ने ?'
प्रधानमन्त्रीलाई गणतन्त्रकाे नाममा आफ्नो सत्ता टिकाइराख्ने र जे पनि गर्न छुट हुने कुरा एमालेलाई स्वीकार्य नभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'गणतन्त्रकाे नाममा आफ्नाे सत्ता टिकाइराख्ने कुरा मात्र जनतालाई स्वीकार्य हुन्छ ? हामीलाई स्वीकार्य हुँदैन, सक्नुहुन्छ कारबाही गरेर देखाउनुस्, नत्र भने यस्ता भ्रष्टाचारकाे घटनालाई, यस्ता विवादास्पद मन्त्री भएकाे क्याबिनेटकाे गतिविधिलाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्दैन ।'
अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई क्याविनेटमा राखेर सुशासनको गफ नदिन प्रधानमन्त्रीलाई उहाँले चेतावनी दिनुभयाे । भ्रष्टाचारलाई स्वयम् प्रधानमन्त्रीले संरक्षण गरिराख्ने, भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा झण्डा हल्लाउन दिने, अनि भ्रष्टाचार विरुद्धकाे भाषण गर्ने ? कसले पत्याउँछ ? यी कुराकाे व्यवहारमा समाधान देखिएन भने नेकपा एमालेले चुप लागेर बस्दैन ।'
