काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विराजभक्त श्रेष्ठले दुई युवाकाे हत्या भएकाे घटनामा मुछिएका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाई कारबाही नगरेकाेमा कडा आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर सांसद् श्रेष्ठले दुई हाेनहार युवाकाे हत्या भएकाे घटनाले देश नै स्तब्ध भएकाे स्मरण गराउनुभयाे । साे घटनाबारे जाँचबुझ गर्न बनाइएकाे सरकारी छानबिन समितिले दिएकाे प्रतिवेदन समेत प्रधानमन्त्रीले पढ्न नभ्याएकाेमा उहाँले विराेध गर्नुभयाे ।
छानबिन प्रतिवेदन अध्ययन नगर्नु र दाेषी मन्त्रीलाई कारबाही नगर्नु दण्डहिनताकाे पराकाष्ट भएकाे सांसद् श्रेष्ठले बताउनुभयाे । 'हाम्राे दलकाे नेताले संसद्मा कुरा उठाइसकेपछि प्रधानमन्त्रीले राम्रै जवाफ दिनुभयाे, हामीले शंकाकाे सुविधा दिएर प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र कारबाही गर्नुहुन्छ भन्याैं, अहिलेसम्म केही भएकाे छैन, त्याे प्रतिवेदनकाे अध्ययन कहाँ पुग्याे ? ३ दिन भइसक्याे त्याे प्रतिवेदन के भयाे ? याे दण्डहिनताकाे पराकाष्ट हाे ? संसद्प्रति सरकार जवाफदेही नहुने मुलुकले कस्ताे नेतृत्व पाइराखेकाे छ, कति लामाे प्रतिवेदन हाे त्याे, पढ्नलाई गाह्राे भने हामीलाई ल्याउनुस्, हामी वाचन गरेर सुनाइदिन्छाैं ।'
प्रतिपक्षलाई नसुन्ने हाे भने संसद् अवरुद्ध गर्ने र आन्दाेलन थाल्ने चेतावनी सांसद् श्रेष्ठले दिनुभयाे । मिटरब्याजी पीडितलाई न्याय दियाैं भनेर भाषण गर्ने माओवादी सरकारले मिटरब्याजीलाई सडकमा भाैतारिने अवस्थामा पुर्याएकाे उहाँले बताउनुभयाे । पीडितहरुलाई न्याय नदिए सडक र सदनबाट आन्दाेलन थाल्ने चेतावनी सांसद् श्रेष्ठले दिनुभयाे ।
