काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटना लगायत विषयमा शून्य, विशेष र आकस्मिक समयमा सांसद्हरुले उठाएका प्रश्नकाे सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार प्रतिनिधि सभा बैठककाे सुरुमै र शून्य समयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित रास्वपा, राप्रपा लगायत दलका सांसद्ले सरकारले बालकुमारी घटनाका दाेषीलाई कारबाही नगरेकाे भन्दै आपत्ति जनाएका थिए । उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै एमाले र रास्वापाले बैठक बेहीबेर अवरुद्ध समेत गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले यसबारे जवाफ दिन यसअघि नै रुलिङ गरेकाे भन्दै आज पनि जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयाे । 'यी विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ, माननीय सदस्यहरुसँग कुरा राखिसकेको छु। मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु, आज पनि त्यही विषयमा माननीय ज्यूहरुले मूलत विषयहरु उठाउनु भएकाे छ, प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु, त्याे भनेकाे शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढंगबाट, सरकारकाे तर्फबाट जवाफ दिनुपर्छ भनेर ६ गते नै स्पष्ट रुपमा रुलिङ गरेकाे जानकारी गराउँछु र अहिले पनि त्याे दिशामा सरकारकाे तर्फबाट यी विषयमा उठेका प्रश्नकाे जवाफ दिन आग्रह गर्छु'- उहाँले भ्ननुभयाे ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, रास्वपा, राप्रपा लगायत दलका सांसद्ले बालकुमारी घटनामा मुछिएका मन्त्रीलाई कारबाही गर्न, बालकुमारी घटनाकाे प्रतिवेदन तत्काल सार्वजनिक गर्न, भ्रष्टाचारमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।
