काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. चन्द्रकान्त भण्डारीले देशकाे अवस्था अस्तव्यस्त भएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकको विशेष समयमा बाेल्दै सांसद् भण्डारीले देशकाे अवस्था अत्यन्त अस्तव्यस्त रहेकाेतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे ।
देशकाे अर्थतन्त्र खराब स्थितिमा पुगेकाे, सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाे, युवा पलायन बढेकाे, संसद् कमजाेर बनेकाे, विकास निर्माण अघि बढ्न नसकेकाे उहाँले बताउनुभयाे । देशकाे विकासका लागि समयअनुसार नीति बनाउनै जानुपर्नेमा त्यसाे हुन नसकेकाे सांसद् भण्डारीले बताउनुभयाे । 'देश जरजर अवस्थामा छ, ग्रामिण अवस्था भताभुंग छ, युवाहरु मुलुकमा छैनन्, तिनीहरुलाई देशमा राख्ने याेजना के हाे ? केही त घाेषणा गर युवाहरु नेपालमा राख्नका लागि, याे अस्तव्यस्त स्थिति छ'- उहाँले बताउनुभयाे ।
केपी शर्मा ओलीकाे पालामा चुच्चे नक्सा सर्वसम्मतिले पास भएकाे तर त्याे पास गरेकाे नक्सा परराष्ट्र मन्त्रालयकाे दराजबाट बाहिर निस्कन नसकेकाे सांसद् भण्डारीले बताउनुभयाे । नेपालभित्र नेपाली र देशका लागि काम गर्न सक्ने मानिस चिन्न सक्नुपर्ने भन्दै बताउँदै उहाँले भन्नुभयाे - 'जबसम्म हामीले ती मान्छे चिन्न सक्दैनाैं, याे मुलुक हामीले बनाउन सक्दैनाैं, नेपालभित्र नेपाली चिन्नपर्ने अवस्था भयाे, याे कुनै व्यक्ति र पार्टीकाे कुरा हाेइन हामीले चिन्न नसकेका कैयाैं चुनाैती छन्'- उहाँले भन्नुभयाे ।
मुलुक सीमित व्यक्तिहरुका लागि हाे भन्ने प्रश्न गर्दै सांसद् भण्डारीले गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे - ' बहुदलीय व्यवस्था प्राप्त गरेकाे यति लामाे समय भयाे, किन १०-१२ जनाको हातमा, उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ, उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्स् छ, अब यो देश कसरी बन्छ ? एउटा सरकारले चाहेर, सरकारले गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छ ? यो सबैभन्दा ठुलो महत्वपूर्ण कुरा रहेछ, हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा, आर्थिक नीतिको गलत नीतिको कारणले गर्दा सिमित व्यक्तिको हातमा अर्थव्यवस्था गयो ।'
युवाहरू विदेश पलायन गराएर मुलुक नबन्ने भन्दै सांसद् भण्डारीले युवालाई देश फर्काउने र देशमै राेजगारी दिने नीति बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । हामीले बनाएकाे संविधान राम्राे भएपनि अर्थतन्त्रले धान्न नसकेकाे बताउनुभयाे । यति धेरै सांसद्, यति धेरै प्रदेश, प्रदेश सभा, यति धेरै मन्त्रीहरुकाे आवश्यकता थियाे भन्नेबारे समीक्षा गर्नुपर्ने बताउनुभयाे ।
सांसद् भण्डारीले मेलम्ची आयोजना लगायत सडक र भवन कुनै पनि आयोजना गुणस्तरीय रूपमा हुन नसकेको, निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौंडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्न आग्रह गर्नुभयाे ।
काम गर्न नसकेका कारण सरकारमाथि प्रश्न उठेकाे सांसद् भण्डारीले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'के सरकारकाे काम ठेक्कापट्टा लगाउने मात्र हाे ? सरकारकाे काम आफ्नाे स्वार्थ बनाउने, आफ्नाे घर बनाउने अरुलाई गरिब बनाउने हाे ? सरकारकाे काम विदेशिएका नागरिकलाई फर्काउने हाेइन ? विश्वमा यति ठूलाे सुन्दर देश नेपाल, तर एसियाकाे सबैभन्दा गरिब मुलुककाे सूचीमा छ नेपाल, यसकाे आधारमा त असफल भइस्, काम गर्न सकिनस्, यसकाे जवाफ हामीले, सिंगाे संसद्ले दिनुपर्छ कि पर्दैन ?'
बहुदलीय व्यवस्था अन्त्य, परिवर्तन ल्याउन जस्ताे ज्यान दिन नपर्ने भन्दै सांसद् भण्डारीले लाेभ कम गर्याे भने मुलुक बनाउन सकिने बताउनुभयाे । देशमा याेग्य पाठ्यक्रम बनाउनुपर्ने, मानिस मान्छे जस्ता धराप सडक बनाउन नहुने, देशमा सुरुङमार्गकाे अवधारणालाई तिब्रता दिनुपर्ने उहाँले बताउनुभयाे । डाक्टर र इञ्जिनियरकाे दरबन्दी खुलाउन समेत सांसद् भण्डारीले बताउनुभयाे ।
किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालय लगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै उहाँले जनताकाेबारेमा सदनमा छलफल हुनुपर्ने बताउनुभयाे ।
मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको भन्दै उहाँले उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयाे । नीति बनाएर काठकाे सदुपयाेग गर्न सके मुलुकले समृद्धि हासिल गर्न सकिने बताउनुभयाे ।
स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौंको पोसाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, युवा पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा बहस गर्न ढिलाइ भएको उहाँले बताउनुभयाे । कर्मचारीका लागि पाैने ६ अर्बकाे कपडा कर्मचारीका लागि खर्च हुने गरेकाे भन्दै सांसद् भण्डारीले अल्लाे लगायत नेपाली उत्पादन प्रयाेग गर्दा साे पैसा जाेगिने गरेकाे बताउनुभयाे ।
युवा पलायन राेक्न हामीले के गरेका छाैं भन्ने प्रश्न उहाँले गर्नुभयाे । किसानलाई बजार, मल बिउ समयमै उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । किसानलाई बाँदरले दु:ख दिइरहेकाे भन्दै उहाँले यसकाे समाधानका लागि सरकारसँग कुनै नीति नभएकाे बताउनुभयाे । कुन बिरुवा राेप्दा उचित हुन्छ भन्ने कुराबारे पनि बहस आवश्यक रहेकाे बताउनुभयाे ।
मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै सांसद् भण्डारीले यस्ता विषयया सबै दल एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयाे ।
मुलुक बनाउने साेच नदेखिएकाे भन्दै उहाँले युवा देशमा बस्न नसके वातावरण भएकाे बताउनुभयाे । समय अनुसार नीति बनाउन नसक्दा देश पछि धकेलिएकाे सांसद् भण्डारीले बताउनुभयाे । कानुन बनाएर गाँजा उत्पादन गर्न दिन र व्यापार गर्न दिनेगरी नीति बनाउनुपर्ने उहाँले बताउनुभयाे ।
