काठमाडाैं । प्रतिनिधि सभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
बिहीबार बसेकाे बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले राेष्टममा पुगेर राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्नै लाग्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गर्नुभएकाे थियाे ।
३ मिनेट घण्टी बजाएर गणकपुरक संख्या पुगे-नपुगेकाे यकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले फागुन ११ गते शुक्रबारसम्मका लागि बैठक स्थगित गर्नुभयाे । कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जना मात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई कार्यसूचीबाट हटाउँदै बैठक स्थगित गरिएकाे सभामुखले घाेषणा गर्नुभयाे ।
कांग्रेस महासमिति बैठक, एमाले केन्द्रीय कमिटी र माओवादी स्थायी कमिटी बैठक जारी रहेकाले आजकाे बैठकमा सांसद्काे संख्या न्यून रहेकाे हाे ।
