काठमाडाैं । नेकपा एमालेका सांसद् सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्थाबारे सरकार बेखबर हुनु लज्जास्पद भएकाे बताउनुभयाे । 'रुस युक्रेन युद्धमा अनाहकमा जीवन गुमाउन पुगेका युवाहरुबारे सरकार बेखबर छ, जानकारी माग्दा जानकारी पाइएकाे छैन, मृतक भनिएकाका परिवारसँग मैले भेटेकाे छु, उनीहरु अढाइ महिनादेखि आफ्ना परिवारकाे न लास न सासकाे अविगत भाेग्न वाध्य छन् ।'
प्युठानका साेमेश सुनार कतारबाट रुसी सेनामा पुगेर र २ महिनापछि उनकाे यद्धमा मृत्यु भएकाे खबर आएकाे भन्दै उहाँले प्युठानकै लालबहादुर घर्तीमगरकाे अवस्था पनि अज्ञात रहेकाे बताउनुभयाे । उनकाे खाेजी गर्न आसरकारसँग आग्रह गर्दै सांसद् साेमेशका परिवारले खाेजीका निवेदन दिएका बताउनुभयाे ।
साेमेश र लालबहादुर जस्ता अरु १२ बढी युवा युद्धमा मृत्यु भएका युवाबारे केही जानकारी दिन नसकेकाे उहाँले बताउनुभयाे । याे देशमा सरकार र परराष्ट्र मन्त्रालय छ कि छैन भनेर सांसद् थापाले प्रश्न गर्नुभयाे । 'नेपाल सरकारले सोमेश र लालबहादुर जस्ता अरु १२ जना भन्दा बढी यो युद्धमा मृत्यु भएका भनिएका नेपाली युवाहरुको अवस्था के छ ? केही जानकारीसम्म गराउन सकेको छैन, सञ्चार माध्यम र सामाजिक सञ्जालबाट परिवारजनले समाचार सुन्ने,आधिकारिकता थाहा पाउन नसक्ने, विचित्रको लाजमर्दो स्थिति विद्यमान छ, सरकारले उनीहरुको अवस्था जानकारी गराउन सक्ने जिम्मेवारी वहन गर्न किन सकिरहेको छैन ? यो देशमा सरकार छ कि छैन ? परराष्ट्र मन्त्रालय छ कि छैन? म प्रश्न गर्न चाहन्छु'- उहाँले भन्नुभयाे ।
रुसी सेनामा कति युवाहरु पुगेका छन् ? कतिको मृत्यु भयो ? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रुपमा सदनलाई जानकारी दिनुपर्ने सांसद् थापाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'रुसी सेनामा कति युवाहरु पुगेका छन् ? कतिको मृत्यु भयो ? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी देओस्, विवरण प्रस्तुत गराेस् र सदनमा जानकारी गराओस् ।'
नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन नपाइने भएपनि युवाहरु भर्ती भइरहेका भन्दै सांसद् थापाले कसको संलग्नतामा यस्तो भइरहेको हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन पाइदैनँ, बेलायत र भारतीय सेनामा भर्तीको पुरानो त्रिपक्षिय सम्झौता छ, बेलायतले नै सिंगापुर पुलिस र अवकाशप्राप्त गोर्खा सैनिकलाई ब्रुनाईको सुरक्षा टुकडीमा पठाउने गरेको स्थिति छ, यो सन् १९६५ भन्दा अघि बेलायतको सिंगापुर र ब्रुनाई उपनिवेश रहँदा देखिको अभ्यास हो, ती देशले गर्दै आएको र अहिलेपनि त्यो अभ्यास निरन्तर रहेको स्थिति छ, नेपालीहरु विदेशी पीआर लिएर अमेरिकी र फ्रान्सेली सेनामा समेत भर्ती भएको भन्ने सञ्चार माध्यमबाट जानकारी हुने गरेको छ, अनाक्रमण, अहस्तक्षेप र असंलग्नताको परराष्ट्र नीति अंगालेको नेपालका नागरिकहरु आज रुस र युक्रेन दुवै देशको सेनामा भर्ती भएर आपसमा लडिरहेका छन् भन्ने जानकारी सरकारका सामु नपुग्नु बडो विडम्बनाको स्थिति हो ।'
यसबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत समाचार सार्वजनिक भइरहेकाे भन्दै सांसद् थापाले प्रश्न गर्नुभयाे - 'मैले परराष्ट्र मन्त्रीलाई साेधेँ, औपचारिक जानकारी दिनुभएन, नेपाल राेक्ने सामार्थ्यमा रहेकाे रहेन, सरकार अग्रसर हुन्छ कि हुँदैन ?'
सरकार मानव तस्करसँगकाे मिलाेमताेमा यसबारेकाे बाेलेकाे त छैन भन्ने आशंका उब्जिएकाे उहाँले बताउनुभयाे । अध्यागमनका कर्मचारीकाे मिलाेमताेमा मानव तस्करीकाे कुरा आइरहेकाे भन्दै सांसद् थापाले यसबारे जवाफ दिन सरकारसँग माग गर्नुभयाे ।
१५ हजार बढी नेपाली रुसी सेनामा पुगेकाे खबर आएकाे भन्दै उहाँले रुसी सेनामा ज्यान गुमाएकाकाे शव ल्याउन, त्यहाँ पुगेका नेपालीलाई सकुशल फिर्ता ल्याउन, उनीहरुकाे जीवनरक्षा गर्न, कूटनीतिक पहल गरेर भएपनि उनीहरुलाई स्वदेश फिर्ता ल्याउन उहाँले माग गर्नुभयाे ।
