संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्नुहुने कार्यसूची छ । साे विधेयक बिहीबारकाे बैठकमा पेस गर्ने कार्यसूची भएपनि आवश्यक संख्या नपुगेपछि बैठक स्थगित भएको थियाे ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुनेछ ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८० पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले नै बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा सांसद् दिलकुमारी थापाले मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्रीमहतले सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८० सभा समक्ष पेस गर्नुहुनेछ ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नुहुने कार्यसूची छ ।
