काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवाको ज्यान गएको घटनाका मुख्य दोषी नेपाल सरकारका मन्त्री प्रकाश ज्वालालाई कारबाही हुनु पर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले सो घटनामा सिङ्गो सरकारको संलग्नता रहेको बताउनुभयो । सो घटनाको छानबिन आयोगले मन्त्री दोषी छ भनेपछि त्यस्तो मन्त्री सरकारमा बसिरहन नमिल्ने उहाँले प्रष्ट पार्नुभयो ।
सो घटनालाई प्रधानमन्त्रीले नै हत्या भनेकोले गृह मन्त्रीले पनि त्यसको जिम्मा लिनु पर्ने उहाँले बताउनुभयो ।
अरबौँको घोटाला काण्डमा अख्तियारमा बयान दिन जानुभएका वर्तमान स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई पनि मन्त्री पदमा रहने अधिकार नभएको उहाँले बताउनुभयो । छानबिनलाई सहयोग गर्न उहाँले राजीनामा दिनु पर्ने भट्टराईले माग गर्नुभयो ।
गौतम बुद्धको एक मात्र अस्तु भएको ठाउँ रामग्राम एउटा प्राइभेट कम्पनीलाई ९९ वर्षको लागि लिजमा दिने निर्णय गर्ने पर्यटन मन्त्री पनि सो घटनाको दोषी भएकोले उहाँ पनि नैतिक जिम्मेवार हुने भट्टराईले बताउनुभयो । सो घटनामा प्रधानमन्त्रीका घरबेटी जोडिएकाले प्रधानमन्त्रीको पनि संलग्न देखिएको उहाँले बताउनुभयो । तीन जघन्य घटनामा मुछिएका तीन जना मन्त्रीले राजीनामा दिनुपर्ने भट्टराईले बताउनुभयो ।
अधिकांश मिटरब्याजी अहिलेको गठबन्धनका निकट भएकाले उनीहरू माथि कारबाही नभएको आरोप भट्टराईले लगाउनुभयो । आन्दोलनमा रहेका मिटरब्याजी पीडितसँग तत्काल संवाद गरी समस्या समाधान गर्न माग गर्दै उहाँले यस विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग भट्टराईले गर्नुभयो ।
