काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सामाजिक व्यवहार सुधार ऐन अन्तर्गत कारबाही हुनु पर्ने माग गर्नुभएको छ ।
दाहालको नातिनीको विवाह र देउवाको छोराको विवाह भोजमा सो ऐन विपरीत बढी मानिस सहभागी भएका र ऐन विपरीत बढी खर्च गरेकोले उहाँहरूलाई कारबाही हुनुपर्ने माग सिंहले गर्नुभयो । ‘जो ठुला ठुला मान्छे छन्, उसलाई नियम कानु लाग्दैन’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीकी नातिनीका विवाह भोजमा हजारौँ मानिस सहभागी भएका उहाँले बताउनुभयो । त्यस्तै देउवाको छोराको विवाह भोज १० दिनसम्म चलेको उहाँले बताउनुभयो । ‘कानुन र संविधानको व्याख्या गलत तरिकाले गरेर देश अघि बढ्दैन’, उहाँले भन्नुभयो ।
सो ऐनमा विवाह भोजमा आफन्तहरू बाहेक ५१ जना भन्दा बढी मानिस बोलाउन नपाउने उल्लेख छ । त्यसो गर्नेलाई २० हजार रुपैँयासम्म जरिवाना वा १५ दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
