काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का जसपाका प्रमुख सचेतक प्रदीप यादवले सहकारी ठगी काण्डमा संलग्न व्यक्ति गितेन्द्र बाबु राई (जिवि) लगायतलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक यादवले जिवि राईको संलग्नता रहेको वीरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ सय ३५ करोड रुपैयाँ बचत लिएर भागेको बताउनुभयाे । साे सहकारी अहिले बन्द रहेकाे उहाँले बताउनुभयाे ।
राईले विना धितो वीरगञ्ज बाहिरका ७५ जना आफ्ना आफन्तलाई करिब ९४ करोड रुपैयाँ दिएको देखिएकाे प्रमुख सचेतक यादवले बताउनुभयाे । राईले कसैलाई ७८ लाख, कसैलाई ३५ लाख, कसैलाई २ कराेड रुपैयाँ बाँड्दा पनि सरकारकाे ध्यान नपुगेकाे उहाँले बताउनुभयाे । 'नेपाल सरकारकाे ध्यान पुगेन, सीबीआईकाे ध्यान किन पुगेन ? कहाँ छन् जिवि राई, कहाँ छन् तिनका मेनेजर ? कहाँ छन् तिनका आसेपासे ? किन समातेन ? किन ध्यान पुगेन' - प्रमुख सचेतक यादवले बताउनुभयाे ।
वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानबिन प्रक्रिया अगाडि नबढेको उहाँले बताउनुभयाे । सहकारी काण्डमै पाेखरामा प्रक्रिया अघि बढेकाे तर वीरगञ्जमा अघि नबढेकाे प्रमुख सचेतक यादवले बताउनुभयाे ।
जिवि राई लगायत त्याे संस्थामा संलग्ननलाई तत्काल पक्राउ गरेर कारबाही गरी वीरगञ्जबासीकाे १ सय ३५ कराेड रुपैयाँ फिर्ता गराइदिन समेत उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
