काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आफू संसद् बैठकमा नआएर प्रतिपक्षले कोरम पुर्याइदिएन भनेर सत्ता पक्षले प्रतिपक्षलाई आरोप लगाउन नमिल्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले सत्ता पक्षका सांसदलाई संसद्को क्यालेण्डर हेरेर सोही अनुसार चल्न आग्रह गर्नुभयो । सरकार र सत्ता पक्षकै गैरजिम्मेवारीपनको कारण संसद्ले कानुन बनाउने काम गर्न नसकेको शाहले बताउनुभयो । संसद्लाई बिजनेसन नै नदिएर प्रतिपक्षलाई आरोप लगाउन नमिल्ने उहाँले प्रष्ट पार्नुभयो ।
संसद् बैठकमा प्रधानमन्त्रीले बालकुमारीमा दुई युवाको हत्या भएको कुरा बोलेकोले सो हत्या घटनाका दोषीलाई कारबाही हुनु पर्ने उहाँले बताउनुभयो । ‘हत्यारालाई पक्राउ किन नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ होइन भने संसद् आज चल्दैन’, शाहीले भन्नुभयो ।
शाहीले संसद् भनेको रत्नपार्क जस्तो नभएको बताउनुभयो । संसदमा उठेका प्रश्नको जवाफ चाहिने शाहीले माग गर्नुभयो । उहाँले बालकुमारी घटनामा संलग्न नेपाल सरकारका मन्त्री प्रकाश ज्वालालाई पक्राउ गरेर किन जेलमा नहालेको भन्दै प्रश्न गर्नुभयो ।
