काठमाडौं । सत्ता पक्षले प्रतिपक्षलाई दोषारोपण गरेपछि विवाद बढेर शुक्रबार मध्यान्हबाट १५ मिनेटको लागि रोकिएको प्रतिनिधि सभा बैठक अपराह्न मात्रै सुरु भएको छ ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्तौलाले सार्वजनिक विषयमा मन्त्रीहरू जोडिएकाले यसको प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताउनुभयो । सांसदको प्रश्न सरकार र सरकारका मन्त्रीसँग जोडिएको विषय भएको उहाँले बताउनुभयो । प्रतिपक्षी दलले कुनै अमुक सांसदसँग कुनै माग नराखेको उहाँले प्रष्ट पार्नुभयो ।
सरकारसँग जवाफ माग्दा त्यसको प्रतिरक्षा सरकारले नै गर्नुपर्यो । कुनै सांसद् प्रधानमन्त्रीको जस्तै गरी प्रतिरक्षामा उत्रिनु संविधान सम्मत नभएको उहाँले प्रष्ट पार्नुभयो ।
सरकार प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा आएर संसदमा उठेका प्रश्नको जवाफ दिन उहाँले माग गर्नुभयो । आजै नभए पनि प्रधानमन्त्री संसदमा उठेका प्रश्नको जवाफ आफैँ आएर दिनुपर्ने बर्तौलाको माग छ । प्रधानमन्त्री सांसदबाट भाग्न नसक्ने बताउँदै उहाँले कति दिन भाग्ने ? भनेर प्रश्न गर्नुभयो । अन्यथा प्रतिपक्षले प्रधानमन्त्रीलाई नत्थी लगाएर संसदमा ल्याउने अवस्था आउने बर्तौलाले बताउनुभयो ।
संसद्लाई राजीनामा दिएर रत्नपार्क जाऊ भन्ने अधिकार कुनै पनि सांसदलाई नभएको उहाँले बताउनुभयो । त्यति मात्र होइन सभामुखलाई समेत सांसदले रुलिङ गर्न खोजेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
यस अघिको बैठकमा माओवादीबाट निर्वाचित सांसद् माधव सापकोटाले संसद्को बैठक चल्न दिइँदैन भन्ने सांसदलाई राजीनामा दिएर रत्नपार्क जाने भन्नुभएको थियो । उहाँले सभामुखले समेत प्रतिपक्षी दलका सांसदलाई च्यापेको आरोप लगाउनुभएको थियो ।
शुक्रबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलले सरकारका विवादित मन्त्रीले राजीनामा दिनु पर्ने माग गरेका थिए । बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, अख्तियारमा बयान दिइरहेका मन्त्री मोहनबहादुर बस्नेत लगायतको विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्नेमा माग प्रतिपक्षी सांसदले राख्नु भएको थियो ।
सोही क्रममा सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवश गणपूरक सङ्ख्या पुर्याउन नदिन बैठक छोडेको कारण बिहीबार सरकाले प्रतिनिधि सभामा छलफलको लागि पेस गर्न लागेको राजनीतिक दल सम्बन्धी विधेयक पेस हुन नसकेको आरोप लगाउनुभएको थियो । त्यस पछि प्रतिनिधि सभा बैठकमा आरो प्रत्यारोप सुरु भएको थियो ।
उहाँको सो आरोप पछि विपक्षी सांसदले उठेर विरोध जनाएका थिए । सत्तापक्ष र प्रतिपक्षी सांसद प्रतिवादमा उत्रिँदा विवाद बढेपछि सभामुखले १५ मिनेटको लागि बैठक स्थगित गर्नुभएको थियो ।
