काठमाडौं । प्रतिनिधि सभा सदस्य रमेश लेखकले संसद् जति जिम्मेवार र प्रभाकारी हुन सक्यो लोकतन्त्र त्यति नै दीर्घजीवी हुनसक्ने बताउनुभयो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले विकास र समृद्धिको अपेक्षा सहित नागरिकले संसद्लाई हेरिरहेकाले संसद्लाई प्रभाकारी बनाउनुपर्ने बताउनुभयो । ‘यो संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाऊँ’, उहाँले भन्नुभयो ।
संसद्लाई आरोप प्रत्यारोपको थलो बनाउन नहुने उहाँले बताउनुभयो । यस्ता गतिविधिले संसद् नै काम नलाग्ने थलो रहेछ भन्ने सन्देश प्रवाह हुने र त्यसबाट संसद् र व्यवस्था माथि नै खतरा हुने उहाँले प्रष्ट पार्नुभयो । संसदमा छलफल, आलोचना हुने भए पनि आरोप प्रत्यारोप भने हुन नहुने उहाँको धारणा छ ।
संसदमा राखेको धारणा एक अर्कालाई मन नपर्ने भए पनि सुन्ने धैर्यता हुनुपर्ने उहाँले बताउनुभयो । संसदमा प्रतिपक्षले सरकारको आलोचना गर्न र माग गर्न पाउने लेखकले बताउनुभयो । संसदमा प्रतिपक्षले आलोचना गर्यो भनेर प्रतिपक्ष आतङ्कित हुनु नहुने उहाँको धारणा छ । प्रमुख प्रतिपक्ष पनि प्रतीक्षामा बसेको सरकार भएकोले उसले पनि धारणा सुन्ने धैर्यता राख्नु पर्ने लेखकले बताउनुभयो ।
जनालाई यो व्यवस्था र संसद्ले हित गर्न सक्छ भन्ने कुराको प्रत्याभूति दिलाउन सक्नु पर्ने लेखकले बताउनुभयो । संसद्का गतिविधि व्यवस्था र संविधान विरुद्ध वातावरण बनाउने तर्फ जानु नहुने उहाँले बताउनुभयो ।
