काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षकाे हुर्मत लिने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद् राजन केसीले गणपूरक संख्याकाे विषयमा प्रतिपक्षीमाथि आराेप लगाएपछि सभामुखले दिएकाे समयमा बाेल्दै प्रमुख सचेतक गिरीले एमालेले संसद् राेक्न नचाहेकाे प्रष्ट पार्नुभयाे । 'हामीले संसद्लाई राेक्न चाहेका छैनाैं, संसद्का नियमित कामलाई हामीले प्रभावित गर्न चाहेका छैनाैं, संसद् व्यवस्थित ढंगले चलाेस् भन्ने चाहेका छाैं, तर सरकारले आएर राेष्टमबाट जवाफ दिन हाेइन, प्रतिपक्षमाथि हिलाे छ्याप्ने र भ्रम सृजना हुनेगरी जुन खालकाे व्यवहार गरिँदैछ हामी आपत्ति व्यक्त गर्न चाहान्छाैं, प्रतिपक्षका कारण आज कहाँतिर संसद् विधेयक पेस गर्न र कानुन निर्माणका लागि कहाँनिर बाधा पुग्याे ?'
बहुमतकाे सरकार भन्ने तर विधेयक संसद्बाट पास गराउने आँट नभए सत्ताबाट राजीनामा दिन समेत प्रमुख सचेतक गिरीले चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे - 'बहुमतकाे सरकार हाे भने आफूले पेस गरेकाे विधेयक संसद्बाट पास गराउने आँट सरकारसँग छ कि छैन ? छैन भने सत्ताबाट नैतिक रुपले राजीनामा दिनुपर्छ ।'
एमालेले प्रतिपक्षले सुशासनकाे कुरा उठाउँदा सरकार जवाफदेही र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा सरकारले सत्ता पक्षका सांसद्लाई अघि सारेर प्रतिपक्षमाथि हिलाे छ्याप्ने काम गर्ने काम गरेकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे । एमालेले सुशासनका मुद्दामा कुनै सम्झाैता गर्न नसक्ने चेतावनी दिनुभयाे ।
प्रतिपक्षीकाे हुर्मत लिनका लागि आकस्मिक समय नदिइने गरेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । उहाँले बहाल रहेका मन्त्रीकाे अर्कमण्यताका कारणले युवाले ज्यान गुमाउने र भ्रष्टाचारी मन्त्री पदमै बहाल गरेकाे अवस्थामा प्रतिपक्षले एक स्वरसाथ सरकार कहाँ छ भनेर आवाज उठाउँदा प्रधानमन्त्रीले जवाफ नदिएकाेमा उहाँले आपत्ति जनाउनुभयाे ।
