काठमाडाैं । सभामुख देवराज घिमिरेले सदनमा सांसद्हरुले उठाएका विषय तथा प्रश्नकाे जवाफ दिन सरकारलाई फेरि रुलिङ गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा सभामुख घिमिरेले सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे हाे । 'सभाको आजको बैठक र अघिल्ला बैठकमा उठेका विषयमा यसअघि पनि सरकारलाई निर्देश गरिसकेको व्यहोरा अनुरोध गर्दछु, साथै सोही विषयमा निरन्तर विषयवस्तुको उठान भएकोतर्फ नेपाल सरकारलाई पुन: ध्यानाकर्षण गराउँदै यो निर्देश गर्दछु'- उहाँले भन्नुभयाे ।
सभामुख घिमिरेले यसअघि बिहीबार पनि प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलले उठाएको विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएकाे थियाे । तर शुक्रबार बसेकाे बैठकमा पनि सरकारका तर्फबाट जवाफ आएन ।
बिहीबारकाे बैठकमा बालकुमारी घटनामा मुछिएका भाैतिक मन्त्री प्रकाश ज्वाला, त्यस घटनासँग सम्बन्धित छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक, भ्रष्टाचारकाे आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा बयान दिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बस्नेत, रामग्राम क्षेत्रकाे जग्गा निजी कम्पनीलाई दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई किन बर्खास्त नगरेकाे भन्ने विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग जवाफ मागेकाे थियाे । रास्वपा, राप्रपा लगायत दलले पनि बालकुमारी घटनाबारे प्रधानमन्त्रीकाे जवाफ मागेका थिए ।
शुक्रबारकाे बैठकमा पनि जवाफ नपाएपछि उनीहरुले बैठक अवरुद्ध गरे ।
शुक्रबारकाे पहिलाे बैठकमा प्रतिपक्ष दलकाे अवराेधपछि साे बैठक स्थगित गरेर सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएकाे थियाे । त्यसपछि उहाँले दाेस्राे बैठकमा सरकारलाई रुलिङ गर्नुभएकाे हाे ।
त्यसअघि फागुन ६ काे बैठकमा पनि प्रतिपक्ष दलले ती विषयमा सरकारसँग जवाफ मागेका थिए । त्यस दिन प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यक्रम थियाे । सांसद्का प्रश्नकाे जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी हत्याकाण्डकाे छानबिन प्रतिवेदन अध्ययन गर्न बाँकी रहेकाे बताउनुभएकाे थियाे ।
