काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद् सञ्जयकुमार गाैतमले देशमा सरकारकाे अनुभूति नै नभएकाे अवस्था रहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गाैतमले जनताले सरकारकाे अनुभूति गर्न नसकेका बताउनुभयाे । सरकारले सुशासन दिन र भ्रष्टाचार नियन्त्रण गर्न नसकेकाे बताउँदै उहाँले भन्नुभयाे - 'हाम्राे आफ्नै गठबन्धनकाे सरकार छ, हामी सरकारमा छाैं, तर साँच्चै भन्ने हाे भने सरकारकाे अनुभूति छैन, जनताले सरकारकाे अनुभूति गर्न सकेका छैन, हामीले सुशासन दिन सकेका छैनाैं, हामीले भ्रष्टाचार नियन्त्रण पनि गर्न सकेका छैनाैं, बाेलु के बाेलु नबाेलु कहिलेसम्म नबलाैं ।'
देशकाे परिस्थिति अत्यन्त गम्भीर भएकाे, जताततै निराशा रहेकाे, आम जनतामा उत्साह नभएकाे भन्दै सांसद् गाैतमले जनतामा उत्साह भर्न सार्थक प्रयास आवश्यक रहेकाे बताउनुभयाे । सबै मिलेर अघि नबढे देश संकटमा पर्ने उहाँले बताउनुभयाे ।
देश सिण्डिकेटले चलेकाे छ भन्ने भाष्य जनतामा रहेकाे र आफूलाई पनि त्यस्तै महशुस गरेकाे भन्दै सांसद् गाैतमले याे सिण्डिकेट नभत्किएसम्म केही नहुने बताउनुभयाे ।
बाेल्दा नसुनिएपछि सत्तापक्षकाे सांसद् समेत सदनमा अनशन बस्ने अवस्था बस्ने परिस्थिति भएकाे स्मरण गर्दै उहाँले बर्दियाकाे पुल बनाउनका लागि अनसन बसेपनि अझै नबनेकाे बताउनुभयाे । यसबारे कर्मचारी, मन्त्री सबैकाे फरक फरक कुरा आइरहेकाे उहाँले बताउनुभयाे ।
राज्य राज्यजसरी नचलेकाे भन्दै सांसद् गाैतमले गम्भीर हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराउनुभयाे । बर्दियाकाे राष्ट्रिय गाैरवकाे आयाेजना बबई सिंचाइ आयाेजना र भेरी बबई डाइभर्सनकाे काम तत्काल अघि बढाउन समेत उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
संसद्मा सत्तापक्ष र प्रतिपक्ष नै नचिनेने अवस्था आएकाे भन्दै सांसद् गाैतमले गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । किसानले मल बिय बजार, भाउ र पानी नपाउने भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'कसरी चल्छ याे मुलुक ? के मा रमाएकाे छ सरकार ? के मा अडेकाे छ सरकार, आज सत्तापक्ष प्रतिपक्ष छुट्टिनै छाेडिसक्याे संसद्मा, यस्ताे परिस्थिति निर्माण भइसक्याे, यसमा हामी गम्भीर हुनुपर्छ ।'
