काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले ४८ अर्ब घाटामा रहेको नेपाल वायु सेवा निगमलाई अझ धराशायी बनाउने काम गर्नुभएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै खतिवडाले घाटामा रहेको निगमलाई अर्को नयाँ जहाज किन्न लागेर मन्त्री किराँतीले थप आर्थिक भारमा पार्न लाग्नुभएको बताउनुभयो । ‘ नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
नयाँ जहाज ल्याएर करोडौँ कमिसनको खेलमा मन्त्री किराँती लागेको उहाँले बताउनुभयो । अहिले उत्पादनमा नै नरहेको जहाज ल्याएर कमिसन खाने खेल किराँतीले गरेको उहाँको भनाइ छ । ‘झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन्’, उहाँले भन्नुभयो ।
भएकै कर्मचारीले काम नपाएको निगममा पर्यटन मन्त्रीले थप कर्मचारी राखेर आर्थिक भार पार्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ६२ जना कर्मचारीलाई जम्मा हाजिर गरेर तलब खाने गरी मन्त्रीले नियुक्ति गर्नुभएको उहाँले बताउनुभयो ।
मन्त्री किराँतीले सस्तो लोकप्रियताको लागि अनेक फण्डा गर्ने गरेको खतिवडाले बताउनुभयो । सस्तो लोकप्रियताको लागि किराँतीले कार्यालय पुछेको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
मन्त्री किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्ष लकरमा गोली राख्ने ल्हारक्याल लामालाई नियुक्त गरेको भन्दै आपत्ति जनाउनुभयो । यसले शान्तिका दूत गौतम बुद्धकै अपमान भएको उहाँले बताउनुभयो ।
किराँतीले कमिसन खाएर र पैसा लिएर विभिन्न नियुक्त गर्नुभएको खतिवडाले दाबी गर्नुभयो । नेपाल एयरलाइन्स, पशुपति विकास कोष, लुम्बिनी विकास कोष सबै ठाउँका नियुक्तिमा आर्थिक अनियमितता भएको उहाँले दाबी गर्नुभयो ।
