काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले जनतामा असन्तुष्टि र निराशा बढेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् शाहीले जनतामा आशाभन्दा निराशा बढ्दै गएकाे र असन्तुष्टि बढ्दै गएकाे बताउनुभयाे ।
देशकाे अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेकाे भन्दै उहाँले आर्थिक संकट बढ्दै गए देश नै दुर्घटनामा पर्ने खतरा रहेकाे बताउनुभयाे । देशमा साधारण खर्च समेत रेमिट्यान्स, विदेशी अनुदान र ऋणबाट धान्नुपर्ने अवस्था रहेकाे सांसद् शाहीले बताउनुभयाे । 'देश वैदेशिक सहायता निर्भर रहेकाे छ, साधारण खर्च समेत रेमिट्यान्स, विदेशी अनुदान र ऋणबाट धान्नुपर्ने अवस्था हामी कसैबाट लुकेकाे छैन,आर्थिक विकासकाे गति राेकिएकाे छ, वैदेशिक लगानी नराम्ररी प्रभावित हुन पुगेकाे छ, आर्थिक अस्थिरता, अर्थतन्त्र अन्त्यन्तै कमजाेर अवस्थाले सरकार समेत कमजाेर देखिने मात्र नभइ आर्थिक क्षेत्रमा संकट पैदा भइ देश गम्भीर दुर्घटनातिर जाने खतरा पनि त्यत्तिकै छ'- उहाँले भन्नुभयाे ।
देशमा वेराेजगारीकाे समस्या बढेकाे, युवा पलायन बढेकाे, वैदेशिक लगानीकर्ता लगानीकाे प्रतिफलका लागि विश्वस्त नरहेकाे र नेपालमा लगानीकाे वातावरण नभएकाे सन्देश गइरहेकाे भन्दै सांसद् शाहीले यसबाट आर्थिक अवस्था झन् कमजाेर हुने खतरा रहेकाे बताउनुभयाे ।
विकास निर्माणका कामले तिब्रता पाउन नसकेकाे भन्दै उहाँले अर्थतन्त्रका सबै सूचकांक कमजाेर रहेका बताउनुभयाे ।
देशकाे अर्थतन्त्र सुधार र जनतामा उत्साह भर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सांसद् शाहीले बताउनुभयाे । विकास पूर्वाधारका काम गर्न, गरिबी हटाउन, आर्थिक समृद्धि र राष्ट्र निर्माणका लागि मिलेर जानुकाे विकल्प नभएकाे उहाँले बताउनुभयाे ।
देशमा सुशासन कायम गर्न सिंगाे सदन एक ठाउँ उभिनुपर्ने सांसद् शाहीले बताउनुभयाे ।
