काठमाडाैं । नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले प्रमुख प्रतिपक्षसहित अन्य प्रतिपक्षले उठाएका मागमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे विशेष समयमा बाेल्दै सांसद् साहले बालकुमारी घटनामा दाेषी करार भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई कारबाही नगरिएकाेप्रति आपत्ति जनाउनुभयाे । बालकुमारी घटनामा मन्त्री दाेषी छन् भनेर छानबिन समितिले सावित गर्दा पनि प्रधाननमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ती मन्त्रीलाई कारबाही नगर्नु लज्जाजनक भएकाे उहाँले बताउनुभयाे ।
बालकुमारीसहित सर्लाहीकाे बरहथवा र बारामा गाेली चलाउन आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बर्खास्त गर्न केले राेक्याे भन्ने प्रश्न समेत सांसद् शाहले सरकारलाई गर्नुभयाे । 'सर्लाहीकाे बरहथवामा जयशंकर साहकाे हत्या, बाराकाे सिम्राैनगढका लक्ष्मी मुखिया विनलाई हत्या गरिएकाे घटनाकाे जिम्मेवार गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीज्यू गृहमन्त्री, भाैतिक मन्त्री लगायतलाई बर्खास्त गर्न के ले राेक्याे ? सरकार जान्छ भन्ने डरले हाे ? या कमीकजाेरी लुकाउन र सरकार टिकाउनका लागि याे खेल हाे ?'- उहाँकाे प्रश्न छ ।
प्रतिपक्षका नेतालाई जालाेमा पार्न सकिन्छ कि भनेर सरकारले भ्रष्टाचारकाे फाइल खाेलेकाे भन्दै सांसद् साहले सत्तापक्षकै नेताकाे अनुहार देखेपछि ती फाइनल बन्द गरिएकाे बताउनुभयाे । सरकारले सत्ता टिकाउनका लागि नै भ्रष्टाचार विराेधी अभियान चलाइएकाे छ भनेर भ्रम फैलाएकाे बताउनुभयाे ।
भुटानी शरणार्थी काण्डमा सत्तापक्षका नेतालाई उम्क्याएर एमालेका नेतालाई जेलमा नै राखिएकाेप्रति उहाँले आपत्ति जनाउनुभयाे । 'त्यही काण्डमा परेका सत्तापक्षका नेता रिहाइ हुनु, प्रतिपक्षका नेता जेलमा बस्ने अवस्था सृजना भएकाे छ, के सत्तापक्षका लागि कानुन नलाग्ने ? प्रतिपक्षलाई मात्र कानुन लाग्ने हाे अहिलेकाे संवैधानिक व्यवस्था यस्तै छ र ?'- सांसद् साहकाे प्रश्न छ ।
देश विकास गर्नुकाे सट्टा गरिब जनतालाई गाेली ठाेकेर सुशासनकाे नारा लगाउन सरकारलाई नसुहाउने समेत उहाँले बताउनुभयाे । 'सरकारले मिटरब्याज पीडितलाई न्याय दिनुपर्नेमा सरकार चुप लागेर बसेकाे छ, किन न्याय दिन सक्दैन ? देश विकासमा लाग्नुकाे सट्टा ठाउँठाउँमा गाेली हानीहानी मान्छे मार्ने, नेपाली जनतालाई दमन गर्ने, देशमा राेजगारी नपाएर विदेश जान लागेकाे गरिब जनताकाे छाेराछाेरीलाई गाेली ठाेक्ने यही हाे सुशासन ? नेपाली जनता कहिलेसम्म भयत्रासमा बस्नुपर्ने हाे ?'- सांसद् साहकाे प्रश्न छ ।
महंगी बढाउने र बेराेजगारी सृजना गर्ने काम सरकारले गरेकाे भन्दै मंहगी अनुसार कर्मचारीकाे तलब नबढाइएकाेमा आपत्ति जनाउनुभयाे ।
