काठमाडाैं । रास्वपाका सांसद् अशाेककुमार चाैधरीले महिला खेलाडीहरुमाथि विभेद नगर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा बाेल्दै सांसद् चाैधरीले आगामी आर्थिक वर्षकाे बजेटमा महिला र पुरुष खेलाडीलाई समान तलब तथा सेवा सुविधा दिनेबारे स्पष्ट व्यवस्था गर्न माग गर्नुभयाे ।
महिला र पुरुष खेलाडीमा हुने तलब, सेवा, सुविधा एवं पुरस्कार राशिकाे विभेदले सरकारलाई नै जिस्काइरहेकाे उहाँले बताउनुभयाे । 'नेपाली चेली अनिता बस्नेतले वाफ महिला च्याम्पियनसिपमा कर्नरबाट विश्वस्तरी गाेलकाे विश्वस्तरीय चर्चा भइरहेकाे छ, इराकविरुद्ध सावित्रा भण्डारी साम्बाले ५ गाेल गरेर विश्वकाे ध्यान तान्न सफल भएकी छिन्, केही महिनाअघि सम्पन्न १९औं एसियन गेम्समा नेपालले दुई पदक जितेकाे थियाे, ती दुवै पदक महिलाले जितेका थिए, तर विणम्बना महिला र पुरुष खेलाडीमा हुने तलब, सेवा, सुविधा एवं पुरस्कार राशिकाे विभेदले सरकारले गर्ने ठूलाठूला समानता कुरालाई जिस्काइरहेकाे छ'- सांसद् चाैधरीले भन्नुभयाे ।
नेपाली महिला खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालकाे शिर उचाे राख्ने र उत्कृष्ट प्रदर्शन गर्ने काम गरेपनि सरकारले महिला खेलाडीकाे बारेमा कुरा नै नगर्ने भन्दै आपत्ति जनाउनुभयाे ।
सरकारले खेलाडीहरुका लागि राम्राे वातावरण बनाउन नसकेकाे भन्दै सांसद् चाैधरीले प्रश्न गर्नुभयाे - 'सम्मानीय प्रधानमन्त्रीले नेपालीकाे जितपछि फेसबुक र ट्वीटरमा मात्रै दिने बधाई बाहेक याे राज्यकाे कुनै अपनत्व छैन ?'
