काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले डामेको र आयोगले पोलेका झण्डावाला मन्त्रीहरुलाई घर पठाउन आग्रह गर्नुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभाकाे दोस्रो बैठकमा बोल्दै सांसद् थापाले सत्तापक्ष र प्रतिपक्षकाे दाेहारीकाे पाराले संसद् चल्न नसक्ने भन्दै दागीहरुलाई पठाउन आग्रह गर्नुभयाे । 'केही दिनदेखि संसद्मा दोहोरी चलिरहेको छ, यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायामा पर्ने भयो, अब यसो गर्न लगाऔँ, आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्, अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ'- उहाँले भन्नुभयाे ।
सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई संसद्मा राख्न नहुने भन्दै सांसद् थापाले उनीहरुलाई पनि पठाएर अनुसन्धान थाल्नुपर्ने बताउनुभयाे । 'अनि सहकारी ठग्ने र २-४ थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर हाेइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं, यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, फूलमालाले स्वागत पनि गरौंला, दाेषी भए दण्ड बेहाेर्नुहाेला, अलिअलि सफा गर्न सके बडाे मजाले यहाँ मिटरब्याज, दूधकाे किसानकाे पैसा नपाएकाे, एनसेलकाे प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो'- उहाँले भन्नुभयाे ।
