काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमश: सकारात्मक दिशातर्फ अघि बढेको दाबी गर्नुभएकाे छ ।
सोमबार प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा आर्थिक वर्ष २०८१-०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री महतले देशकाे अर्थतन्त्र क्रमश: सकारात्मक दिशातर्फ अघि बढेकाे दाबी गर्नुभयाे ।
अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेका उहाँले बताउनुभयाे । 'लगानी अनुकुल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेकाे छ'- अर्थमन्त्री महतले भन्नुभयाे ।
विद्युत उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उहाँले बताउनुभयाे । बैंकिङ क्षेत्रतर्फ पर्याप्त तरलता ब्याजदर एकल विन्दुमा झर्ने क्रममा रहेकाे तथा निक्षेप र कर्जा प्रवाहमा क्रमश वृद्धि भएकाे अर्थमन्त्री महतले बताउनुभयाे । घरजग्गा काराेबार र पुँजीबजार सुधाराेन्मुख रहेकाे उहाँले दाबी गर्नुभयाे ।
वाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकुल वातावरण सिर्जना गरेको अर्थमन्त्री महतले बताउनुभयाे ।
राजश्व संकलन लक्ष्य अनुरुप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको बताउनुभयाे ।
चालु आर्थिक वर्षकाे प्रथम त्रैमासिकमा अघिल्लाे आर्थिक वर्षकाे तुलनामा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएकाे अर्थमन्त्री महतले बताउनुभयाे । मुलुककाे अर्थतन्त्र लयमा फर्किन थालेपनि बाह्य र आन्तरिक समस्याका कारण चुनाैतीमुक्त भने भइनसकेकाे उहाँले बताउनुभयाे ।
लघुवित्तमा समस्या देखिएका, राजस्व संकलनमा चुनाैती थपिएकाे अर्थमन्त्री महतले बताउनुभयाे ।
