काठमाडौं । साेमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न छानबिन समिति बनाइएकाे छ ।
काठमाडाैं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयले सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य हुनुहुन्छ ।
पूर्व झापादेखि पश्चिम कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै सोमबार संसद् भवनभित्र प्रवेश गरेका थिए ।
न्यायका लागि प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेपछि प्रहरीले चार दर्जन बढीलाई नियन्त्रणमा लिएको छ । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । संसद् भवनभित्रै लघुवित्त पीडितहरु प्रवेश गरेपछि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
