काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशले संयुक्त रूपमा बुझ्नका लागि गृहकार्य भइरहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिनुभयाे ।
साे प्रतिवेदन एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि उहाँले बताउनुभयाे । 'ईपीजी दुवै देशले सहमतिबाट गठन गरेकाे र प्रतिवेदन तयार भएको हुनाले एकैपटक बुझ्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ, त्यो हुँदै भएन भने माननीय सदस्यहरूले भन्याजस्तो नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ' - प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
संघीय निजामती ऐन ल्याएर संघीयतालाई बलियो बनाउने पक्षमा आफू रहेको भन्दै उहाँले केही दिनभित्रै सदनमा पेस हुने जानकारी दिनुभयो ।
सुरुमा नेपालीहरु रुसी सेनामा गएकाे थाहा नभएकाे र थाहा भएपछि सरकारले रुस सरकारसँग कुरा गरिरहेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
मिटरब्याज, लघुवित्त र सहकारी पिडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै उहाँले सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो । बाँकी रहेका समस्या सरकारको कारण भन्दा अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको रहेको समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
तराई मधेश द्रूतमार्गको प्रस्तान विन्दुको खोकना क्षेत्रमा जग्गा अधिग्रहण गर्ने काममा सहमति खोज्ने काम भइरहेको उहाँले बताउनुभयो ।
वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानीको सहज आपूर्तिको व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रण्डले मेलम्ची खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले कुल २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये ३ वटा सम्पन्न भइसकेको र अन्यको पनि निर्माण तीव्र रुपमा भइरहेको दाबी गर्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डले संसदीय समितिले दिएको निर्देशन र सुझावहरुलाई सरकारले गम्भीरतासाथ लिएको बताउनुभयो ।
प्रदेश समन्वय परिषद्को बैठक बसेर संघीयता कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भइरहेको समेत उहाँले दाबी गर्नुभयाे ।
