काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको दाबी गर्नुभएकाे छ ।
बुधबार बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद्का प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालीहरु रुसी सेनामा गएकाे सरकारलाई सुरुमा थाहा नभएकाे र थाहा पाउनासाथ त्यहाँकाे सरकारसँग कुरा गरेकाे बताउनुभयाे ।
नेपाली भर्नाबारे सूचना दिने, राहत-क्षतिपूर्ति दिने, तथ्यांक-विवरण पनि दिने समझदारी रुससँग भइरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अहिले रुसले सूचना दिने, राहत क्षतिपुर्तिपनि दिने र त्यसको तथ्यांक विवरण पनि दिने भन्ने पनि समझदारी भएको छ, अब बल्ल सरकारको कमाण्डमा त्याे विषय आउन थालेको छ ।'
नेपालीहरु रुसी सेनामा भर्ती भएकाे कुरालाई सरकारले गम्भीर रुपमा लिएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । 'नेपालीहरु काेही भारत, काेही दुवैकाे बाटाेगरी रसिया पुगेका छन् र रसियन आर्मीमा भर्ती भएका छन् भन्ने कुरा नेपाल सरकारलाई पहिला थाहा थिएन, रुस र युक्रेनकाे लडाइँ अगाडि बढ्दै गयाे र केही नेपाली मारिएकाे कुरा आइसकेपछि मात्रै सरकारलाई जानकारी भएको हो, काेही भिजिट भिसामा, काेही स्टुडेन्स भिसामा, काेही विदेशबाट रुस पुगेपछि सरकारले यसलाई गम्भिरतापूर्वक लिएर रुस सरकारसँग कुरा गरेकाे छ' - उहाँले भन्नुभयाे ।
नेपालीहरु रुसी सेनामा भर्ना हुनु दु:ख र चिन्ताकाे विषय भएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले साे समस्या समाधान गर्नेतिर सरकार लागिरहेकाे बताउनुभयाे । सरकारले सार्वजनिक रूपमै सन्धि-सम्झौता भएबाहेक कहीँ पनि सेनामा भर्ती नहुन आग्रह गरिरहेकाे भन्दै उहाँले ब्रिटिस र भारतबाहेक अन्त कुनै पनि सेनामा भर्ती हुन दिने भन्ने नीति सरकारकाे नरहेकाे बताउनुभयाे ।
