काठमाडाैं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रहरीको नियन्त्रणमा रहेका मिटरब्याज तथा लघुवित्त पीडितहरुमाथि मुद्दा नचलाउन सरकारसँग माग गरेकाे छ ।
फागुन १४ गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट प्रहरी नियन्त्रणमा पुगेका लघुवित्त पीडितहरुमाथि मुद्दा नचलाई बिना शर्त रिहा गर्न एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेकाे हाे । पार्टी संसदीय दलकाे टाेलीले बुधबार गृहमन्त्री श्रेष्ठलाई भेटेर साे माग गरेकाे सचेतक महेश बर्ताैलाले सञ्चारकर्मीलाई जानकारी दिनुभयाे ।
गृह मन्त्रालय र सुरक्षा संयन्त्रका कमजोरीका कारण पीडितहरु संसद् भवनभित्र प्रवेश गरेकाले उनीहरुमाथि मुद्दा नचलाउन र बिना शर्त तत्काल रिहा गर्न गृहमन्त्रीकाे ध्यानाकर्षण गराइएकाे सचेतक बर्ताैलाले बताउनुभयाे ।
प्रहरीले साेमबार पक्राउ परेका ४८ जना महिला र १ जना पुरुष आन्दोलनकारीलाई मुद्दा चलाउने तयारी गरेपछि एमालेले सरकारकाे ध्यानाकर्षण गराएकाे हाे । साे घटनामा सुरक्षा कमजोरी गर्नेलाई कारबाही गर्न पनि गृहमन्त्रीकाे ध्यानाकर्षण गराइएकाे उहाँले बताउनुभयाे ।
मिटरब्याज-लघुवित्त पीडितहरुको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न पनि सरकारसँग माग गरिएको सचेतक बर्तौलाले जानकारी दिनुभयो ।जवाफमा गृहमन्त्रीले मिटरब्याज-लघुवित्त पीडितहरुको बिना शर्त रिहाइ र मुद्दा नचलाउने गरी सहजीकरण गर्ने तथा उनीहरुका माग सम्बोधन हुनेगरी वार्तामा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले बताउनुभयो ।
बानेश्वर र सिंहदरबार वरपर फुटपाथमा सर्वसाधारणलाई तारबार लगाएर हिँड्न समेत रोक लगाइएकाे विषयमा एमालेकाे आपत्ति रहेकाे भन्दै उहाँले यस्तो काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरिएकाे बताउनुभयाे ।
लघुवित्त पीडितहरु सुरक्षा घेरा ताेडेर संसद् भवन छिरेपछि सरकारले सिंहदरबार र संसद् भवनकाे फुटपाथमा सर्वसाधारणलाई पैदल हिँड्न निषेध गरेकाे छ ।
