काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलसा दाहालले वर्तमान सरकारले विकासको योजना नै बनाउन नसकेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै दाहालले जलस्रोतको धनी देश नेपालका जनताले सुद्ध पिउने पानी समेत नपाएका बताउनुभयो । मधेसका जनता अहिले पनि आर्सेनिक मिसिएको पानी खान बाध्य रहेका प्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।
महेन्द्र राजमार्ग आसपासमा राज्यको लगानीमा ६० बढी खाने पानीका ट्याङ्की बनेका भए पनि ती कति वर्षे योजना हुन् भन्ने कुरा समेत थाहा नभएको दाहालले बताउनुभयो । ‘एकातिर सरकारको लगानी खेर गइरहेको छ, अर्कोतिर जनताले खाने पानी पाइरहेका छैनन्, यो आधा र अधुरो योजना कहिलेसम्म रहिरहने हो ?, सरकारले यस तर्फ सोचोस्’, दाहालले भन्नुभयो ।
चुरेको संरक्षण पनि त्यतिकै आवश्यक रहेको उहाँले औँल्याउनु भयो । जलाशयलाई व्यवस्थित गर्न पनि त्यतिकै आवश्यक रहेको भए पनि सरकारले त्यो गर्न नसकेको उहाँले बताउनुभयो ।
अन्नको भण्डार मधेस सुख्खा ग्रस्त बन्दै गएको, पानीको तह घट्दै गएको प्रति पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । चुरेको दोहन रोक्न अति आवश्यक रहेको उहाँले बताउनुभयो । ‘सरकारले रोक्नको लागि पहल गर्न सक्छ, तर योजना नै बनाउन सकिरहेको छैन’, दाहालले भन्नुभयो ।
