काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकाेटाले राष्ट्रिय सभा आफ्ना लागि विश्वविद्यालय भन्दा पनि ठूलाे ज्ञान भण्डारका रुपमा रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा आफ्नाे कार्याकालबारे बाेल्दै सांसद् देवकाेटाले ०७८ जेठमा वाग्मतीमा भएकाे उपचुनावबाट आफू राष्ट्रिय सभामा प्रवेश गरेकाे भन्दै करिब पाैने ३ वर्षकाे समयमा धेरै कुरा सिकेकाे बताउनुभयाे ।
राष्ट्रिय सभामा नआएकाे भए नेपालकाे राजनीति र संसद् नबुझ्ने भन्दै उहाँले राष्ट्रिय सभा आफ्ना लागि विश्विद्यालय भन्दा पनि ठूलाे ज्ञान भण्डारकाे रुपमा रहेकाे बताउनुभयाे । 'यहाँ नआएकाे भए नेपालकाे राजनीति र संसद् मैले बुझ्ने थिइनँ, मेरा लागि विश्वविद्यालय भन्दा पनि ठूलाे ज्ञान भण्डारका रुपमा रह्याे ।'
आफू आएपछि १ सय ३९ दिन बैठक बसेकाे र १ सय ३० दिन अर्थात करिब ९४ प्रतिशत आफ्नाे उपस्थिति रहेकाे सांसद् देवकाेटाले बताउनुभयाे ।
सभामा समयमै बैठक सुरु हुने, संघीयता कार्यान्वयनकाे लागि संकल्प प्रस्ताव र विधायन सम्बन्धि विधेयक, प्रदेश र स्थानीय तहकाे अधिकारका लागि केही मन्त्रीसँगकाे नाेकझाेक आफ्ना लागि सम्झनलायक घटना तथा भूमिका भएकाे बताउनुभयाे ।
सिंगाे मुलुककाे भावना र चाहानाकाे प्रतिनिधित्व, संघीयताकाे पहरेदारकाे भूमिका निर्वाह, प्रदेश र स्थानीय तहका अधिकारलाई मुखरित गरेकाे दाबी समेत सांसद् देवकाेटाले बताउनुभयाे ।
संसद्मा सरकारकाे छाया पर्न दिने नहुने, बजेटमा संसद्काे पूर्ण स्वायतत्ता हुनुपर्ने उहाँले बताउनुभयाे ।
