काठमाडाैं । राष्ट्रिय सभा सदस्य कुमार दसाैदीले सांसद् उठाएका कुरालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा आफ्नो कार्यकालको अनुभव सुनाउँदै नेकपा एमालेका सांसद् दसाैदीले जसकाे सरकार भएपनि जनप्रतिनिधिले उठाएका कुरा गम्भीर रुपमा लिएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे । तर १ वर्षकाे बीचमा सांसद्ले बाेलेका कुरा कार्यान्वयन नभएकाे बताउनुभयाे ।
१ वर्षकाे अवधिमा आफूले जनताका आवाज उठाएकाे र यसबाट आफू सन्तुष्ट भएकाे उहाँले बताउनुभयाे । सांसद् दसाैदीले १ वर्षे कार्यकाल कानुन सिक्दासिक्दै र जनताका आवाज बाेल्दाबाेल्दै सकिएकाे बताउनुभयाे ।
जनप्रतिनिधि जनताकाबीचमा उदाहरणीय हुनुपर्ने भन्दै उहाँले दलका कुरा दलमा र संसद्मा जनताका विषय उठाउनुपर्ने बताउनुभयाे । कुनैपनि दाग लाग्याे भने सांसद् कुर्सीमा बस्न नहुने समेत उहाँले बताउनुभयाे ।
आफूले प्रतिनिधित्व गर्ने राेल्पा जिल्ला द्वन्द्वग्रस्त जिल्ला भएकाे भन्दै उहाँले द्वन्द्वबाट धेरै मानिसहरु आर्थिक र मानसिक रुपमा पीडित रहेका बताउनुभयाे ।
त्यसरी पीडित जनता जीवन गुजाराका लागि सीपबिनै विदेश र द्वन्द्वग्रस्त मुलुक रुसी सेनामा समेत गएका भन्दै सांसद् दसाैदीले उनीहरुका लागि अभिमुखिकरण कार्यक्रम चलाउनुपर्ने बताउनुभयाे । निश्चित सीप सिकेपछि मात्र विदेश जानुपर्छ भनेर उनीहरुलाई सम्झाउनुपर्ने र याे काम सरकारी तवरबाट हुनुपर्ने उहाँले बताउनुभयाे ।
राेल्पा शैक्षिकस्तर गिर्दाे रहेकाे भन्दै सांसद् दसाैदीले शिक्षामा पर्याप्त दरबन्दीकाे व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । शहीद मार्ग निर्माण कार्य तत्काल सम्पन्न गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
दाङकाे संस्कृत र लुम्बिनीकाे बाैद्ध विश्वविद्यालयका लागि पर्याप्त बजेट व्यवस्था गर्न, बाँके बर्दिया, दाङ, कपिलवस्तु लगायत जिल्लामा गुठीकाे समस्या रहेकाे भन्दै सांसद् दसाैदीले ती समस्या समाधानका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
संघीयताकाे पूर्ण कार्यान्वयन हुनुपर्ने भन्दै उहाँले स्थानीय र प्रदेशका लागि कानुन बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
दाङमा मध्यम खालकाे हवाई एयरपाेर्ट निर्माणका लागि पनि सांसद् दसाैदीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । जसकाे सरकार भएपनि जनप्रतिनिधिले उठाएका कुरा पूरा हुनुपर्ने उहाँले बताउनुभयाे । उहाँ उपचुनावबाट निर्वाचित हुनुभएकाे थियाे ।
