काठमाडौं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले वर्तमान सरकारको प्रष्ट गन्तव्य नभएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विषयको छलफल छलफलमा भाग लिँदै उहाँले सरकाले नागरिकलाई भ्रम छर्ने कुरा गर्नु नहुने बताउनुभयो । ‘गन्तव्य कता कता अलमलिएको जस्तो, जनतालाई फेरी पनि झुक्याउने गरी २९ बुँदामा समेटिएको सिद्धान्त र प्राथमिकता हेर्दा निकै अलमलिएका कुरा छन्, जनतालाई भ्रम पर्ने खालका कुरा यसमा उल्लेख छन्’, उहाँले भन्नुभयो ।
सरकारले पूरा गर्नै नसक्ने कुरा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । जुन कुरा गर्न सकिने हो त्यही कुरा मात्र सिद्धान्त र प्राथमिकतामा राख्नु पर्ने उहाँले सुझाव दिनुभयो ।
देशको व्यापार घाटा कृषि बाहेक अरू कुराबाट गर्न नसकिने बताउँदै श्रेष्ठले कृषिलाई प्राथमिकताको एक नम्बरमा राख्नु पर्ने सुझाव दिनुभयो । विद्युत् व्यापारलाई एक नम्बरमा राखेर अहिलेको अवस्थामा देशको व्यापार घाटा पूरा गर्न नसक्न उहाँले स्पष्ट पार्नुभयो ।
भारतलाई विद्युत् बचेर मात्र नेपाल धनी हुन नसक्ने उहाँले बताउनुभयो । देशका विभिन्न क्षेत्रमा विद्युत् खपतको योजना बनाउन सक्दा मात्र देशमा उत्पादन बढ्ने र आर्थिक रूपमा सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयो ।
