काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले सरकार संसद्प्रति जबाफदेही नभएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सभामुखले प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिन पटक पटक रुलिङ गर्दा पनि प्रधानमन्त्रीले अटेरी गरेको भन्दै आपत्ति जनाउनु पर्यो । ‘ सभामुखज्यू प्रधानमन्त्रीको खोजी गर्नु पर्यो, मन्त्रीहरूको खोजी गर्नु पर्यो, सरकारलाई संसद्प्रति जबाफदेही बनाउनु पर्यो, सरकार संसद्प्रति जबाफदेही भएन’, थापाले भन्नुभयो ।
बालकुमारी घटनामा दोषी ठहर गरिएका मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई के ले रोकेको छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
विभिन्न ठाउँबाट हिँडेर आएका मिटर ब्याज पीडित माथि दमन गरिएको र उनीहरूको माग सम्बोधन नभएको बताउँदै उहाँले सरकारको आलोचना गर्नुभयो । ‘सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो, प्रधानमन्त्रीको खोजी गर्नु पर्यो, प्रधानमन्त्रीको खोली गर्न उच्चस्तरीय समिति बनाउने हो कि’, थापाले भन्नुभयो ।
काठमाडौं महानगरपालिकाले फुटपाथका व्यापारी माथि गरेको दमनको पनि उहाँले निन्दा गर्नुभयो । सबै खालका सत्ताको दमन स्वीकार्य नभएको उहाँले बताउनुभयो ।
विवादित दलाई लामा समेतको उपस्थितिमा लुम्बिनीमा गर्न लागिएको धार्मिक सम्मेलनको पनि उहाँले विरोध जनाउनुभयो ।
