काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिन पुनः सरकालाई रुलिङ गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रतिनिधि सभामा उठेको प्रश्नको प्रधानमन्त्री उपस्थित भएका जवाफ दिनु पर्ने माग राखेपछि सभामुखले सरकारलाई पुनः रुलिङ गर्नुभएको हो ।
सरकारको जवाफ नआएसम्म बैठकको गतिविधि अघि नबढ्ने भन्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुखले सरकारलाई जवाफ दिन रुलिङ गर्नुभयो । ‘माननीय सदस्यहरूले उठाउनु भएको विषयका सम्बन्धमा यस अघिका बैठकहरूमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकिएको ब्यहोरा जानकारी गराउँदछु, माननीय सदस्यहरूले आजको बैठकमा पनि विभिन्न विषयका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गर्नुभएको छ, आज र यस अघि उठेका विषयहरूमा सभाको मिति २०८० फागुन १२ गते बस्ने बैठकमा उपस्थित भई जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु’, सभामुखले रुलिङ गर्दै भन्नुभयो ।
यस अघि पनि सभामुखले पटक पटक सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गर्नुभएको थियो । तर प्रधानमन्त्रीले त्यसको अटेर गर्दै आउनुभएको छ ।
