काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले संविधान मान्छु भनेर सदनमा आइसकेपछि व्यवस्थाकाे विराेध गर्न नपाइने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पाैडेलले सांसद्हरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विरोध गर्न नपाइने बताउनुभयाे । राप्रपाका सांसद्लाई लक्षित गर्दै उहाँले त्यसाे भन्नुभएकाे हाे ।
सांसद् पाैडेलले यसबारे गम्भीर ध्यानाकर्षण गराउन सभामुखसँग अनुराेध समेत गर्नुभयाे ।
'यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो, यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसद्मा शपथ खाएको हुन्छौं र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं, सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु- शपथ खाएर आईसकेपछि, यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र ? यो कुराको गम्भीर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु'- उहाँले भन्नुभयाे ।
