काठमाडौं । प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले फुटपाथका व्यवसायी माथि काठमाडौं महानगरपालिकाले गरेको व्यवहार क्रूर, अपमानजनक र मानवीय व्यवहार भएको बताउनुभएको छ ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सचेतक समेत रहनुभएका बर्तौलालाले सुनधारा क्षेत्रमा महानगर प्रहरीले नियन्त्रणमा लिएर पनि लिएर पनि बुटले हिर्काएर घाइते बनाइएको भन्दै आपत्ति जनाउनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै बर्तौलाले व्यक्तिलाई नियन्त्रणमा लिने अधिकार महानगर प्रहरीलाई नभएको समेत बताउनुभयो ।
सडक पेटीमा व्यापार गर्ने न्यून पुँजी भएका व्यापारी माथि भएको यस्ता कार्यको उहाँले निन्दा गर्नुभयो । ती नागरिकको बाँच्न पाउने अधिकार सुरक्षित गर्न उहाँले सरकारसँग माग गर्नुभयो । सडक पेटीमा व्यवसाय गर्ने न्यून पुँजी भएका व्यवसायीका माग सम्बोधन गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
बर्तौलाले दूध उत्पादक किसानले दूध फाल्नु पर्ने अवस्था प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘किसानहरू रोएर बस्नु पर्ने जुन अवस्था छ, त्यसमा सरकारले ध्यान दिन सकेन’, उहाँले भन्नुभयो ।
