काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेका सांसद् दीपक गिरीले मिटरब्याज पीडित, सहकारी पीडित लगायतकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गिरीले मिटरब्याज पीडितहरु कैयाैं दिन पैदलै हिँडेर काठमाडाैं अवस्था कसरी सृजना भयाे भनेर प्रश्न गर्नुभयाे । 'केही महिना पहिले उखु किसानहरु चिनी मिललाई बेचेको उखुको पैसा नपाएको भन्दै काठमाडौं आउनु भएको थियो, अहिले कैयौं साता पैदलै हिडेर मिटरब्याज पीडितहरु काठमाडौं आउनु भएको छ, हामी संघीय प्रणालीमा गएका छौं, तर आम जनताले आफ्नो समस्या लिएर भोकै, प्यासै यो जाडोमा किन काठमाडौं नै आउनुपर्ने ? गाउँ गाउँमा सिंहदरबार भनेको के यही हो ?'- उहाँकाे प्रश्न छ ।
करिब १४ लाख सदस्यले खाइ नखाई आफूहरुले बचत गरेको रकम सहकारीमा डुबेको गुनासो गरिरहेका भन्दै सांसद् गिरीले सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा यो सरकारको रहेकाे बताउनुभयाे । सांसद् गिरीले सहकारीकाे रकम हिनामिना गर्नेलाई कारबाही र पीडितलाई राहत दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'ग्यालेक्सी टीभीका अध्यक्ष रहेका जीबी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ, जीबी राई समूहले करिब ४९ हजार सर्वसाधारणको सात अर्ब रुपैयाँ भन्दा बढी हिनामिना गरेको प्रहरीको अनुमान छ, आम जनताको अरबौं रकम कहिले र कसरी फिर्ता हुने हो ? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु पर्याे, जुनसुकै दलमा लागेको भएपनि, जतिसुकै शक्तिशाली भए पनि सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारबाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन पनि म माग गर्दछु'- उहाँले भन्नुभयाे ।
सांसद् गिरीले कृषि औजार कारखानालाई पुन: सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई प्रतिबद्धता अनुसार उपलब्ध गराउन माग गर्नुभयाे । 'सामाजिक अभियन्ता महावीर पुनले देशभरि घुमेर, आफ्नो जीवनी बेचेर ३ करोड रुपैयाँ संकलन गरिसक्नुभएको छ कृषि औजार कारखानालाई पुन: सञ्चालन गर्नको लागि, तर सरकारले प्रतिबद्धता गरेको रकम समेत निकासा गरेको छैन, त्यसैले कृषि औजार कारखानालाई पुन: सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराउने वाचा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्र लाई उपलब्ध गराउन म माग गर्दछु'- उहाँले भन्नुभयाे ।
देश इतिहासकै गम्भीर माेडमा रहेकाे भन्दै सांसद् गिरीले दैनिक हजारौं युवा देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइ रहेका बताउनुभयाे । यसको कारण नखाेजे भने आफूहरु इतिहासमै एउटा अक्षम पुस्ताको रुपमा चिनिने समेत उहाँले बताउनुभयाे ।
चीन र भारतजस्ता दुई ठूला अर्थतन्त्रको बीचमा अवस्थित नेपाल गरीब र मगन्ते रही रहनुपर्ने कुनै कारण नभएकाे सांसद् गिरीले बताउनुभयाे । देशकाे वैदेशिक व्यापार घाटा १७ खर्ब नाघेको र त्याे वार्षिक बजेटकै हाराहारी भएकाे उहाँले बताउनुभयाे ।
देशकाे अर्थतन्त्र ध्वस्त भएकाे र भ्रष्टाचार बढिरहेको भन्दै सांसद् गिरीले मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भूमिका हुने बताउनुभयाे । तर बर्षौं पुरानो फाइलहरु झिकेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गरिरहेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सरकार इमान्दार हुन सत्तारुढ हुन् वा प्रतिपक्षसबै इमान्दार हुनुपर्ने भन्दै सांसद् गिरीले त्यसको सुरुआत संसद्भित्रैबाट गर्नुपर्ने बताउनुभयाे ।
संसदीय प्रजातन्त्रको जननी पनि भनिने बेलायतको संसद्बाट आफूहरुले धेरै कुरा सिकेका तर संसद्लाई सशक्त बनाउन, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन र संसदीय समितिहरुलाई सही मानेमा प्रभावकारी बनाउन किन सकीरहेका छैनौ ? भन्नेबारे समीक्षा आवश्यक रहेकाे उहाँले बताउनुभयाे ।
दाङकाे टरिगाउँमा २०११ सालमा स्थापित ऐतिहासिक विमानस्थलमा कम्तिमा मध्यम खालका एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्न सांसद् गिरीले सरकारसँग माग गर्नुभयाे ।
स्वर्गद्वारी आश्रमको गुठीका मोही किसानहरू पनि अहिले आन्दोलनमा रहेका भन्दै उहाँले उनीहरुका माग पूरा गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'उनीहरूले आफूले जोतभोग गर्दै आएको जमिनको लालपुर्जा माग गरिरहेका छन्, हाम्रो परम्परागत सम्पदा पनि नमासिने, गुठीको संरक्षण हुने र किसानले आफ्नो हक अधिकार पाउने गरी जति सक्दो चाडो सर्वमान्य समाधान खोज्न म सरकारसँग माग गर्छु ।'
