काठमाडौं । अनुगमन तथा मूल्यांकन विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक पारित गरेकाे हाे । बैठकमा पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको 'राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०८० पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णायार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि बैठकमा मन्त्री शर्माले राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि छलफल गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे । विधेयक सम्बन्धमा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ पनि उहाँले दिनुभएकाे थियाे । अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको साे विधेयक राज्य व्यवस्था समितिले माघ २३ गते परिमार्जनसहित पारित गरेकाे थियाे ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० पेस गर्नुभएकाे थियाे ।
विधेयक प्रस्तुत हुनुअघि नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गर्नुभएकाे थियाे । उक्त विरोधको सूचना बैठकले बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि साे विधेयक मन्त्री यादवले पेस गर्नुभएकाे हाे ।
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक बडापत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
