काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले 'महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन' पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।
यस्तै दिउँसो १ बजेर १७ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउनुहुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
